नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

खानी तथा भूगर्भ विभाग

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र भारतीय तथा तिब्बती टेक्टोनिक प्लेटहरूको सङ्गम क्षेत्रमा अवस्थित भएकाले भूकम्पीय दृष्टिले अत्यन्त संवेदनशील मुलुक हो। ऐतिहासिक अभिलेखहरूले नेपालमा विगतदेखि नै विनाशकारी महाभूकम्पहरू आइरहेका छन् भन्ने पुष्टि गरेका छन्। त्यसैले भूकम्पीय जोखिम न्यूनीकरणका लागि वैज्ञानिक आधारमा भूकम्पीय जोखिमको मूल्याङ्कन आवश्यक हुन्छ, जुन यस क्षेत्रमा विद्यमान साइस्मो–टेक्टोनिक (Seisomtectonic) तथा भूवैज्ञानिक प्रक्रियाहरूको अध्ययन र विश्लेषणमा आधारित हुन्छ।

सूक्ष्म भूकम्प (Microseismic) अनुगमन प्रणाली क्षेत्रको साइस्मो–टेक्टोनिक (Seisomtectonic) अवस्थाको अध्ययन गर्ने प्रभावकारी माध्यम हो। यसले भूकम्पीय निगरानी प्रणालीका रूपमा कार्य गर्दै भूकम्पपछिको उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सहयोग पुर्‍याउँछ। साथै, क्षेत्रीय तथा विश्वव्यापी भूकम्पहरूको अवस्थिति निर्धारण तथा भूकम्प विज्ञानसम्बन्धी अनुसन्धानका लागि आवश्यक तथ्याङ्क उपलब्ध गराउने महत्वपूर्ण आधार पनि हो।

नेपालमा सूक्ष्म भूकम्प अनुगमन कार्य वि.सं. २०३५ (नोभेम्बर १९७८) मा उद्योग मन्त्रालय अन्तर्गतको खानी तथा भूगर्भ विभाग (DMG) र फ्रान्सको पेरिस विश्व विद्यालय अन्तर्गतको Laboratoire de Géophysique Appliquée बीचको प्राविधिक सहयोगमा प्रारम्भ गरिएको थियो। यस क्रममा काठमाडौंको दक्षिणतर्फ अवस्थित फुलचोकी (PKI) डाँडाको शिखरमा पहिलो Short Period भूकम्प मापन केन्द्र स्थापना गरिएको थियो।

क्रमशः स्टेशनहरूको विस्तार गर्दै सन् १९९८ सम्ममा २१ वटा Short Period भूकम्प मापन केन्द्रहरू सहितको राष्ट्रिय भूकम्पीय सञ्जाल निर्माण गरिएको थियो। त्यसपछि सन् २०१२ मा थप ७ वटा एक्सेलेरोमेट्रिक (Strong Motion) स्टेशनहरू स्थापना गरिएका थिए। हाल उक्त राष्ट्रिय सञ्जाल फ्रान्सको Department of Analysis and Surveillance of Environment (DASE) को प्राविधिक सहयोगमा सञ्चालन भइरहेको छ। यी २१ वटा भूकम्प मापन केन्द्र तथा ७ वटा एक्सेलेरोमेट्रिक स्टेशनहरू नेपाल हिमालयको Lesser Himalaya तथा Sub Himalaya क्षेत्रमा समान रूपमा वितरण गरिएका छन्।

भूकम्पीय तथ्याङ्कको अभिलेखन दुई केन्द्रहरूबाट गरिन्छ। वीरेन्द्रनगर, सुर्खेतस्थित क्षेत्रीय भूकम्प मापन केन्द्र  (Regional Seismological Centre–RSC) ले मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्रका ९ वटा स्टेशनहरूको अभिलेखन गर्दछ भने लैनचौर, काठमाडौंस्थित राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (National Earthquake Monitoring and Research Centre–NEMRC) ले प्युठानदेखि ताप्लेजुङसम्म रहेका बाँकी १२ वटा स्टेशनहरूको अभिलेखन गर्दछ।

यी स्टेशनहरू दुई तहको संवेदनशीलता (Sensitivity Channel) मा सञ्चालन हुने भएकाले ११० डेसिबेलसम्मको डायनामिक रेञ्ज प्राप्त हुन्छ। प्राप्त संकेतहरू DASE द्वारा विकसित JADE सफ्टवेयरमार्फत केन्द्रीय रूपमा डिजिटाइज तथा सङ्कलन गरिन्छ। अप्रिल २००१ देखि भूकम्पको केन्द्रविन्दु तथा परिमाण निर्धारणका लागि ONYX सफ्टवेयर प्रयोग हुँदै आएको छ। यसअघि तथ्याङ्क सङ्कलन तथा प्रशोधनका लागि ISIS सफ्टवेयर प्रयोग गरिन्थ्यो।

भूकम्प पृथ्वीभित्र रहेका सक्रिय भ्रंशहरूमा सञ्चित प्रत्यास्थ ऊर्जाको आकस्मिक मुक्तिका कारण उत्पन्न हुने प्राकृतिक प्रक्रिया हो, जसले पृथ्वीको भूपर्पटीमा कम्पन उत्पन्न गर्दछ। भारतीय प्लेट निरन्तर उत्तरतर्फ सर्ने प्रक्रियाबाट नेपाल हिमालय क्षेत्रमा भइरहेको भूपर्पटीय सङ्कुचनको अनुगमन गर्न राष्ट्रिय भूकम्प मापन तथा अनुसन्केधान केन्द्र/खानी तथा भूगर्भ विभागले संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजी (Caltech) तथा फ्रान्सको DASE सँगको प्राविधिक सहयोगमा नेपालभर २९ वटा ग्लोबल पोजिसनिङ सिस्टम (GPS) स्टेशनहरू स्थापना गरेको छ।

सन् २०१७ को अन्त्यसम्म राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले कुल २,१३,८०७ वटा भूकम्प अभिलेख गरेको थियो। तीमध्ये १,०८,००७ वटा स्थानीय तथा क्षेत्रीय भूकम्प र १,०५,८०० वटा टेलिसिस्मिक (दूरवर्ती) भूकम्प रहेका छन्।